सयुँक्त विद्यार्थी संघर्ष समिति र नगरप्रमुख सरावगीबिच सहमति, शुरुमा प्रवेश गर्न नदिँदा केही बेर तनाब

सयुँक्त विद्यार्थी संघर्ष समिति र नगरप्रमुख सरावगीबिच सहमति, शुरुमा प्...

वीरगञ्ज, ८ असार ।  सयुँक्त विद्यार्थी संघर्ष संगठन  पर्सा र वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीबिच छलफल भएको छ ।

 विद्यालय सञ्चालन र विद्यार्थीहरुका सवालसम्बन्धी आवाज उठाउन गठित सयुँक्त विद्यार्थी संगठनले कोभिड १९ को महामारीका बिच विद्यालय कसरी सञ्चालन गर्ने भन्ने बारेमा नगरप्रमुखको ध्यानाकर्षण गराएका छन ।

यसअघि उठाएका मागहरुमध्ये वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले पूर्ववत पोशाक, पाठ्यपुस्तक र शूल्क यथावत राख्नुपर्ने मागको सम्बोधन भइसकेको छ । तर विद्यालय अनुगमन गर्न समिति बनाउने र उक्त समितिमा सयुँक्त विद्यार्थी संघर्ष समितिबाट पनि सहभागिता गराउनुपर्ने मागको सम्बोधन गराउन गएको टोली र नगरप्रमुखबिच सकारात्मक वार्ता भएको छ ।

नगरप्रमुख सरावगीले अनुगमनका लागि १० वटा टोली गठन गर्ने र उक्त टोलीमा विद्यार्थी संगठनबाट १÷१ जनालाई समावेश गरिने प्रतिबद्धता जनाएपछि वार्ता टुंगिएको हो । यसअघि नगरप्रमुख सरावगीलाई भेट्न गएका सयुँक्त विद्यार्थी संगठनका पदाधिकारीलाई प्रहरी परिचालन गरी गेटमै रोकेर राख्दा केही बेर तनाब समेत भएको छ । गेटमा प्रहरी राखी गेटभित्र प्रवेश गर्न रोक लगाएपछि महानगर परिसरमा केही बेर तनाब भएको हो ।

अनुगमन समितिमा विद्यार्थीलाई समावेश गर्ने मागको सम्बोधन शैक्षिक प्रशासन महाशाखाबाट नहुने शाखा प्रमुख अर्विन्दलाल कर्णले स्पष्ट पारेपछि विद्यार्थीहरु नगरप्रमुख सरावगीलाई भेट्न गएका हुन् । शुरुमा प्रवेशद्वारमा ताला लगाई प्रहरी परिचालन गरेर प्रवेश गर्न रोक लगाएपछि आधा घण्टासम्मको तनावपूर्ण अवस्थालाई सामान्य बनाएर प्रवेश गर्न दिइएको थियो ।

कुराकानीको क्रममा जेठ ३० गते सम्बोधन भएका आधा मागहरुको लागि नगरप्रमुख सरावगीलाई धन्यवाद दिँदै विद्यार्थीहरुको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राखी ठोस मापदण्ड बनाएर मात्रै विद्यालय सञ्चालन गर्न आग्रह गरिएको थियो ।

संघर्ष समितिका संयोजक विकास तिवारी, सह–संयोजक कविराज पटेल, सदस्यहरु रेयाज अंसारी, हरिन्द्र साह, फिरोज बादसाह, धर्मराज यादव लगायत विद्यार्थी नेताहरुको उपस्थितीमा सहमति भएको समितिका प्रवक्ता  हेमन्त तामाङ्ले जानकारी दिए ।