माओवादी केन्द्र वैध रहेको निर्वाचन आयोगको ठहर

पूर्वमाओवादी नेताहरूले दिएको निवेदन खारेज

माओवादी केन्द्र वैध रहेको निर्वाचन आयोगको ठहर

काठमाण्डौं - नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै पूर्वमाओवादी नेताहरूले दिएको निवेदन निर्वाचन आयोगले खारेज गरेको छ । निवेदनमा माग गरिएजस्तो पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र अवैधानिक नरहेको भन्दै आयोगले नेताहरूको निवेदन खारेज गरिदिएको हो । 

आयोगले माओवादी केन्द्रले नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐनले तोकेका प्रावधान र अन्य नियमका आधारमा माओवादी केन्द्र वैध रहेको र निवेदकले भनेजस्तो खारेज गर्न नमिल्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।   

पूर्वमाओवादीका नेताहरू रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टलगायतको तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले गएको बुधवार आयोगमा निवेदन दिएका थिए । निवेदनको सुनुवाइबारे बुझ्न नेताहरू आयोगमा पुगेका थिए ।