बारामा सिडिओ कार्यालयको छाप र दस्तखत किर्ते गरेर सवारी पास बनाउने दुईजना पक्राउ

बारामा सिडिओ कार्यालयको छाप र दस्तखत किर्ते गरेर सवारी पास बनाउने दुईज...

वीरगञ्ज - बारामा जिल्ला प्रशासन कार्यालयको किर्ते छाप र दस्तखतबाट नक्कली सवारी पास बनाउने उपकरणसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर १७ निवासी २१ वर्षीय जयनारायण प्रसाद जयवाल र वडा नम्बर ३ निवासी ३० वर्षीय गोपाल प्रसाद कलवार रहेका छन् ।

जयसवाललाई जिल्ला प्रशासन कार्यालय बाराको किर्ते छाप र दस्तखत भएको सवारी पास प्रयोग गरेर सवारीसाधन चालाईरहेको अवस्थामा पक्राउ गरेपछि उनले दिएको बयानको आरोपमा कलवारलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बारा प्रहरीका प्रवक्त एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) गौतम मिश्रका अनुसार गत असार २६ गते शनिबारका दिन जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकमा प्रहरीले गर्ने नियमित सवारीसाधनहरुको चेकजाँचको क्रममा कलैयादेखि काठमाडौँ जाँदै गरेको ना १ ज ७२८८ नम्बरको सुमो गाडीलाई रोकेर चेकजाँच गर्दा गाडीधनि समेत रहेका चालक जयनारायण प्रसाद जयसवालले जिल्ला प्रशासन कार्यालय बाराको छाप र अधिकृतको दस्तखतसमेत किर्ते गरी बनाइएको नक्कली सवारी पास प्रयोग गरेर सवारी चलाइरहेको पाइएको थियो ।

जयसवाललाई पक्राउ गरेर सोधपुछ गर्दा उनले कलैया उपमहानगरपालिका वडा नम्बर ४ स्थित मालपोत कार्यालय अगाडी गोपाल प्रसाद कलवार सञ्चालक रहेको दाईभाई फोटो स्टुडियो एण्ड जनरल स्टोरबाट उक्त पास बनाएको बयान दिएका थिए ।

उनले दिएको बयानको आधारमा प्रहरीले दाईभाई फोटो स्टुडियो एण्ड जनरल स्टोरमा छापामारी गरेर खानतलासी गर्दा त्यहाँबात थप ३ थान नक्कली सवारी पास र पास बनाउन प्रयोग गरिएका २ थान प्रिन्टर र १ थान कम्प्युटर लगायतका उपकरणहरु बरामद गरिएको डिएसपी मिश्रले बताए । कलवारलाई पनि स्टुडियोबाट नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय सिमरामा राखी लिखत सम्बन्धी कसुर (किर्ते मुद्दा) मा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए ।