उज्वल थापाको उपचार गरी बचेको रकम विभिन्न ७ संस्थालाई वितरण

उज्वल थापाको उपचार गरी बचेको रकम विभिन्न ७ संस्थालाई वितरण

काठमाडौं - विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापाको उपचार गरी बचेको रकम विभिन्न तरिकाले मानव र राष्ट्रको सेवामा लागेका संघ-संस्थालाई वितरण गरिएको छ ।शनिबार थापाको निजी आवासमा परिवारले एक कार्यक्रमको आयोजना गरी उक्त रकम ति संघ-संस्थाहरुलाई हस्तान्तरण गरेको हो । 

उनको उपचार गर्नको लागि संसारभरबाट करिब २,८०० व्यक्तिहरूबाट रु ६७ लाख ८३ हजार ४ सय ८५ संकलन भएको परिवारले बताएको छ । त्यसमध्ये २४ लाख २० हजार  ३ सय ४९ रूपैयाँ उपचारको लागि खर्च भएको  र बैंक तथा रकम स्थानान्तरण गर्नको लागि १ लाख १० हजार ९ सय ३४ रूपैयाँ पैसा खर्च भएको पनि परिवारले बताएको छ । 

उपचार गरी बाँकी ४२ लाख ५२ हजार २ सय रूपैयाँ विभिन्न ७ वटा संघ-संस्थालाई बाँडिएको हो । जसमा कोभिडको महामारीमा चिकित्सकीय तथा जीविकोपार्जन समस्या भोगिरहेका मानिसहरुलाई सहयोग गरिरहेका संघ-संस्थाहरूलाई उक्त रकम प्रदान गरिएको छ । 

ती संस्थाहरूमा भोरे नेपाल, सर्लाही (रु २,५०,०००), हार्टबिट, काठमाडौं (रु २,००,०००), मधेश ह्युमन राइट्स होम, कपिलवस्तु (रु २,०२,२०१.७२), नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन, काठमाडौँ (रु ५,००,०००), राष्ट्रिय आविष्कार केन्द्र, काठमाडौँ (रु १५,००,०००), ‌ओडा फाउन्डेसन, कालिकोट (रु १०,००,०००), तथा सानो पाइला, वीरगन्ज (रु ६,००,०००) रहेका छन् । 

यी संस्थाहरूले बढीमा ६ महिनामा आफ्नो काम सकाउनेछन् र उनीहरूको कामको अनुगमन गर्नलाई तोकिएका सम्पर्क व्यक्तिहरूले उक्त समयभित्र एउटा अनुगमन प्रतिवेदन पनि सार्वजनिक गर्ने बताइएको छ । 

कार्यक्रममा उज्वल थापाकी श्रीमती एरिका अधिकारीले उपस्थित सबैलाई धन्यवाद दिँदै उक्त रकम प्रदान गरिएको र सहयोग रकमले समस्यामा परेका व्यक्तिहरूलाई मद्दत पुग्ने आशा व्यक्त गरिन साथै सहयोगी सम्पूर्णलाई विशेष धन्यवाद पनि दिइन् । 

थापालाई सुरुमा कोरोना र पछी निमोनिया देखिएको थियो । उपचारकै क्रममा गत जेठ १८ गते उनको निधन भएको थियो ।