अनलाईन पढाएर अरु बेला जस्तै शुल्क लिन खोजेको भन्दै जनकपुर इञ्जिनियरिङ कलेजमा विद्यार्थीको आन्दोलन

अनलाईन पढाएर अरु बेला जस्तै शुल्क लिन खोजेको भन्दै जनकपुर इञ्जिनियरिङ...

२६ श्रावण, काठमाडौं । कलेज प्रशासनले पहिलेको सेमेस्टरमा जम्मा १० प्रतिशत छुट दिएर टारेको र यसपटक पनि लाग्ने भन्दा बढी अनावश्यक शुल्क लिन खोजेको भन्दै जनकपुर इञ्जिनियरिङ कलेज, कुपण्डोलमा विद्यार्थीले आन्दोलन गरेका छन् । 

विगत ८/९ दिनदेखि कलेजमा धाउदै वार्ताको प्रयास गर्दापनि प्रशासनले अरु कलेजले जे गर्छ त्यै गरौंला भन्दै पन्छिन खोजेपछि विद्यार्थीले कलेजको प्रशासनमा तालाबन्दी गर्दै - "३५ प्रतिशत छुट कायम गर", "कलेज आई.ओ.ई. खेलेको, विद्यार्थीलाई पेलेको" ,"किन यस्तो भएको, प्रशासन कहाँ गएको" जस्ता नाराबाजी गरेका थिए । 

वैज्ञानिक रूपमा जति लाग्छ आफूहरु तिर्न तयार रहेको तर अनावश्यक रूपमा लाग्ने भन्दा बढी एक रुपैयाँ तिर्न पनि आफू तयार नरेहको बताउँदै आफूहरुले न्याय नपाएसम्म आन्दोलन जारी रहने कुरा विद्यार्थीहरुले नेपाल रिपोर्ट्सलाई बताए।