आशा शेखर मेमोरियल फाउण्डेशन र नेपाल इण्डो हस्पिटलद्वारा आयोजित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

आशा शेखर मेमोरियल फाउण्डेशन र नेपाल इण्डो हस्पिटलद्वारा आयोजित नि:शुल्...

वीरगञ्ज - वीरगञ्जस्थित आशा शेखर मेमोरियल फाउण्डेशन र नेपाल इण्डो हस्पिटलद्वारा बाराको जीतपुर सिमरा गाउँपालिकामा आयोजित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

रोटर्याक्ट क्लब अफ सिमरा बारा र जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. १६ को सहयोगमा पिलुवाको आदर्शनगरस्थित श्री जन जागृत उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित स्वास्थ्य शिविरमा २ सय जना भन्दा बढी व्यक्तिहरूको विभिन्न विषय विषेशज्ञ चिकित्सकहरुद्वारा स्वास्थ्य परीक्षण गरिएको थियो ।

क्याम्पमा वरिष्ठ न्युरोसर्जन डा. रञ्जित चौरसिया, वरिष्ठ जेनरल सर्जन डा. अखलाखुल रहमान, दन्त रोग विषेशज्ञ डा. राहुल गुप्ता, डा. अङ्कित गुप्ता लगायत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशषज्ञ र आँखा रोग विषेशज्ञहरुद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै नि:शुल्क औषधी समेत वितरण गरिएको थियो ।

क्याम्प समापनमा बोल्दै नेपाल इण्डो अस्पतालका निर्देशक चन्द्रशेखरले वीरगञ्जमा काठमाडौँ लगायत ठूलो शहरहरू जस्तै राम्रो र गुणस्तरीय उपचार सुपथ मूल्यमा हुने बताए । वीरगञ्जमा मध्य तराई क्षेत्रमै सबैभन्दा सस्तो र गुणस्तरीय उपचार नेपाल इण्डो अस्पतालमा हुने दावी गर्दै उनले अहिलेसम्म कोही पनि आफ्नो अस्पतालको उपचारबाट असन्तुष्ट नभएको बताए ।

त्यसैगरी आशा शेखर मेमोरियल फाउण्डेशनका संस्थापक अध्यक्ष हिमांशु शेखरले आगामी दिनमा पनि फाउण्डेशनबाट यस्ता परोपकारी कामहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । 

रोटर्याक्ट क्लब अफ सिमरा बाराका अध्यक्ष अनिमेष श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल इण्डो अस्पतालका प्रशासन प्रमुख रामबाबु पासवान लगायतको उपस्थिति रहेको थियो ।