वीरगञ्जकाे इनर्वा नाका : रातमा तस्करको लस्करलाई प्रहरीकै स्कर्टिङ

वीरगञ्जकाे इनर्वा नाका : रातमा तस्करको लस्करलाई प्रहरीकै स्कर्टिङ

वीरगञ्ज – वीरगंजको मुख्य भन्सार नाकाबाट सार्वजनिक सवारीका साधनहरु अहिले पनि आउजाउ गर्न छुट छैन । तर यसको पछिल्तिर पर्ने इनर्वाबाट भने छिमेकी बजार रक्सौल हुँदै तस्करीका सामान खुलेआम भित्रि रहेको छ ।

कोभिडका कारण भन्दै मुख्य नाकामा कडाइ गरे पनि सहायक नाकाबाट भने प्रहरीकै संरक्षणमा तस्करीका सामान भित्रिरहेको हो । साँझ छिप्पिदै जाँदा वीरगंजको वडा नम्बर १६ पर्ने इनर्वा नाकाहुँदै तस्करीका सामान बोकेका मानिसहरु ताँति लागेर वीरगंज भित्रिएको देख्न सकिन्छ ।

यहाँ नेपाल प्रहरीको प्रहरी चौकी इनर्वा गाउँ र सीमा सुरक्षाका लागि खटिएको ससस्त्र प्रहरीको टोली पनि खट्ने गरेको छ । तर भन्सार छलेर सामान ल्याउन र जथाभावि आउजाउ गर्न न नेपाल प्रहरीले रोक्छ न त ससस्त्र प्रहरीले नै रोक्छ । बरु नेपाल प्रहरी र ससस्त्र प्रहरी मिलेर तस्करीका सामान भित्र्याउन सहयोग गरिरहेका छन् ।

भन्सार सुरक्षार्थ खटिएको ससस्त्र प्रहरी बल वीरगञ्जका प्रहरी निरीक्षक सुवर्ण बम र नेपाल प्रहरीको टाइगर टोलीका प्रहरी हवल्दार जलेन्द्र यादवको सुरक्षामा तस्करहरुले भन्सार छलिका सामान रातको समयमा भित्र्याउने गरेको पाइएको हो । 

शनिबार राती इनर्वा नाकामा पुग्दा नेपाल प्रहरी र ससस्त्र प्रहरीकै स्कटिङमा तस्करीका सामान लर्को लागेर भित्रिरहेको पाइएपछि सेटिङमा तस्करीको धन्दा चलिरहेको खुलेको हो ।

तस्करहरुले नेपाल प्रहरी र ससस्त्र प्रहरी दुबैलाई नजराना बुझाएर यो नाका हुँदै तस्करीका सामान भित्र्याउने गरेको स्रोतको दावी छ ।साभार दिशा निर्देश