प्रदेश २ मा ११ जना सांसदले रोजे एकीकृत समाजवादी, १२ जना खुलेर लोसपामा

प्रदेश २ मा ११ जना सांसदले रोजे एकीकृत समाजवादी, १२ जना खुलेर लोसपामा

वीरगञ्ज -  प्रदेश नम्बर २ का ११ जना प्रदेश सभा सदस्यले नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादी रोजेका छन् । माधव कुमार नेपाल नेतृत्वको पार्टी एकीकृत समाजवादीमा ११ जनाले सनाखत गरेसँगै प्रदेश २ मा नेकपा एमालेभन्दा नेकपा एकीकृत समाजवादी ठूलो दल बन्न पुगेको छ । 

एमालेका १० सांसदले बिहीबार प्रदेश निर्वाचन कार्यालय जनकपुरधाम पुगेर एकीकृत समाजवादीका पक्षमा सनाखत गरे भने दिल्लीमा उपचाररत सांसद डिल्लीप्रसाद उप्रेतीले नेपाली दूतावासमार्फत एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गरेका हुन् ।

एमाले सांसदहरू शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, नागेन्द्र यादव, खुशीमा खातुन, प्रमोद यादव, रवीन्द्र बैठा, बेची लुङ्गेली, अशोक यादव, मदन जैन श्रीवास्तव र मञ्जु यादवले एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन् ।

पार्टी विभाजनपछि सत्यनारायण मण्डल, त्रिलोकीप्रसाद, अनिता यादव, मनोजकुमार सिंह, शारदादेवी थापा, किशोरी साह कमल, लगनलाल चौधरी र जगतारैणदेवी सुँडी, सुन्दर विश्वकर्मा र सीता गुरुङ एमालेमै बसेका छन् ।  

प्रदेश २ को प्रदेशसभामा एमालेका २१ सांसद थिए । तीमध्ये ११ जना सांसद एकीकृत समाजवादीमा लागेपछि एमाले प्रदेशसभामा पाँचौँ दल ठूलो दलको हैसियतमा झरेको छ ।  

एमाले विभाजन बनेसँगै एकीकृत समाजवादीका पक्षमा ११ जना खुलेका छन् भने एमालेमा १० सांसद छन् । यस्तै, जसपा विभाजनपछि बनेको लोकतान्त्रिक समाजवादी पार्टीका पक्षमा अहिलेसम्म १२ जना खुलेका छन् । जसपाका ५५ सांसदमध्ये १२ जना लोसपामा लागेका हुन् ।

जसपा विभाजनपछि पनि ठूलो दलको हैसियतमा कायमै छ । १०४ सदस्यीय प्रदेशसभामा कांग्रेस १९ सांसदसहित दोस्रो, लोसपाका पक्षमा अहिलेसम्म १२ सांसदसहित तेस्रो, एकीकृत समाजवादी ११ सांसदसहित चौथो, एमाले १० सांसदसहित पाँचौँ र माओवादी केन्द्र ८ सांसदसहित छैटौँ दल बनेको छ । प्रदेशसभामा नेपाल संघीय समाजवादी पार्टीका एक सांसद छन् ।