कम्युनिस्टको हृदय विशाल देशको रक्षा गर्छ :अष्टलक्ष्मी शाक्य

बिहीबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै

कम्युनिस्टको हृदय विशाल देशको रक्षा गर्छ :अष्टलक्ष्मी शाक्य

नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले २ जेठ ०७५ मा फर्किने सहमति अक्षरस पालना हुनुपर्ने बताउनुभएको छ । बिहीबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै शाक्यले एमाले सुदृढ बनाउन १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन अक्षरस : पालना हुनुपर्ने बताउनुभएको हो ।

जालझेल र षडयन्त्र नगरी २ जेठ अक्षरस : पालना गर्नुपर्ने शाक्यको भनाइ थियो ।  ‘जो जुन पदमा थियो त्यहीँ फर्काउ । हामी अलग भएर के फाइदा भयो ? अन्तरपार्टी निर्देशन अक्षरस : पालना गर्नुपर्छ । हिजोका कुरा बिर्सिएर सुदृढ एमाले बनाउन छाति फराकिलो बनाउनुपर्छ । सम्पूर्ण कमिटी त्यही ढंगले पुनर्गठित हुँदै अघि बढ्नुपर्छ,’ उहाँले भन्नुभयो ।  

शाक्यले आजको आवश्यकता सुदृढ एमाले भएको बताउँनुहुँदै भन्नुभयो, ‘कम्युनिस्टको हृदय विशाल हुन्छ । देशको रक्षा गर्छ । प्रतिक्रियावादीहरु कागजका बाघ हुन्,’ उहाँले भन्नुभयो  ।   

शाक्यले नेकपा फुटिसकेपछि पुरानै पार्टीमा फर्किँदा एमाले हुन नसकेको अनुभव सुनाउनुभयो ।‘माओवादी आफ्नो हिसाबले अघि बढ्यो । हामी एमाले हुन सकेनौं । म नै रातभरी कतिपय बेला सुत्न सकिनँ । किन कम्युनिस्ट आन्दोलन एकजुट भएन, मिल्न सकेन भनेर मनभरि खेल्यो,’ उहाँले भनिन्,  ‘तर १ जेठ २०७८ मा आएर खुसी भए । किनभने १० बुँदे सहमति भयो । आफ्नै घरभित्र बस्न पायौं भनेर खुसी भयौं । आफ्ना सबै पीडा भुलेर । समर्पण र त्याग थियो । फेरि एमाले हुँदा खुसी भयौं । आज हामी एमालेमा छौं।शाक्यले अब एमाले कहिल्यै नटुक्रिने र नफुट्ने गरी सुदृढ बनाउन सबै कुरा छोड्नुपर्ने तथा त्याग र समर्पण गर्नुपर्नेमा जोड दिनुभयो ।