राजधानी काठमाडौं साक्षर जिल्ला घोषणा

राजधानी काठमाडौं साक्षर जिल्ला घोषणा

४ असोज, काठमाडौं । काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । सोमबार वागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री सुवेदीले काठमाडौं जिल्लाको साक्षरता प्रतिशत ९६.८८ प्रतिशत रहेको भन्दै काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको बताए । उनले काठमाडौं जिल्लालाई साक्षर बनाउँदा धेरै खुशी मिलेको भन्दै जिल्लालाई अझै पूर्ण साक्षर बनाउनमा लागि पर्ने बताए ।

सामाजिक विकास मन्त्री सुवेदीले भने, ‘..प्रचलित कानूनबमोजिम काठमाडौं जिल्लाको साक्षरता प्रतिशत ९६.८८ रहेकोले काठमाडौं जिल्लालाई आज मिति २०७८-०६-०४ गते सोमवारका दिन साक्षर जिल्ला घोषणा गर्दछु, साक्षर बनाउँदा आज हामी जुन किसिमको खुशी व्यक्त गरिरहेका छौँ।’

उनले यसपछाडिका धेरै खुड्किलाहरु रहेकाले त्योभन्दा बाँकीलाई साक्षर बनाउनुपर्ने बताए । ललितपुर शतप्रतिशत साक्षर जिल्ला भएको भन्‍दै उनले काठमाडौंलाई पनि पूर्ण साक्षर बनाइनु पर्नेमा जोड दिए ।

शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुइँटेलले शिक्षामा व्यवस्थापकीय चुनौती रहेको बताए । श्रोत र साधन पर्याप्त भएपनि यसलाई व्यवस्थापन गर्न नसकेको उनले बताए।

निर्देशक लुइँटेलले शिक्षाको कार्यक्रममा र कार्यान्वयनमा जटिल समस्या रहेको भन्दै नेपालमा शिक्षाको अहिलेको अवस्था बसको इन्जिन नबनाइ झ्याल ढोका बनाउन थालिएको र इन्जिन मुग्लिनमा गएर जोड्ने जस्तो तरिकाले अघि बढिरहेको तर्क गरे।

निर्देशक लुइँटेलले भने, ‘शिक्षामा व्यवस्थापकीय चुनौती छ । श्रोत र साधन छ तर व्यवस्थापन र कार्यान्वयनमा जटील चुनौती छ, म एउटा शिक्षासेवक भएकोले के भन्छु भने नेपालको शिक्षामा कार्यक्रममै चुनौती छ, कार्यान्वयनमै जटिल समस्या छ, अहिलेको शिक्षाको अवस्था बसको इन्जिन बनाइएको छैन, झ्यालहरु बनाउन थालिएको छ, त्यो पनि इन्जिन मुग्लिनमा जोड्ने गरी, त्यहाँसम्म पुग्छ कि पुग्दैन थाहा छैन।’

त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षा शाखामा काम गर्ने शिक्षा अधिकारीहरुलाई शिक्षालाई व्यवस्थित बनाएर लैजान अनुरोध गरे। उनले प्राविधिक शिक्षा क्षेत्रमा बढी भन्दा बढी रकम लगानी गर्न अनुरोध गरे।

सचिव थपलियाले भने,‘म खास गरी शिक्षा शाखामा काम गर्ने हाम्रा शिक्षा अधिकारी ज्यूहरुलाई विशेष निवेदन गर्न चाहन्छु, भोलिको दिनमा हामीले हाम्रो व्यवस्थापनलाई चुस्त बनाउनका लागि स्थानीय पालिकाहरुको महत्वपूर्ण भूमिका रहने भएकोले त्यसैले म सामाजिक विकास मन्त्री ज्यूलाई प्राविधिक शिक्षा क्षेत्रमा धेरै भन्दा धेरै बजेट छुट्याउन अनुरोध गर्दछु।’

१५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भएका क्षेत्र एवं, जिल्ला र राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने शिक्षा मन्त्रालयको नीतिगत निर्णय छ। सोही अनुरुप आज काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो ।

श्रोत: अनलाइन खबर