नेपाली महिलालाई भारतमा बेच्न लागिरहेका आलम वीरगञ्जबाट पक्राउ

नेपाली महिलालाई भारतमा बेच्न लागिरहेका आलम वीरगञ्जबाट पक्राउ

वीरगञ्ज -  मानव बेचबिखनकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ भने एक जना महिलालाई उद्दार समेत गरेकाे छ । 

सशस्त्र प्रहरी बलले वीरगञ्ज महानगरपालिकाकाे वडा नम्बर १७ अलाैंबाट भारतको विहार राज्य पूर्वी चम्पारण थाना पलनवा, पोष्ट भेलाही, मुसहर्वा ग्रामपञ्चायत वडा नं. ३ घर भएका ३२ बर्षिय रेयान खान भन्ने मुन्ना आलमलाई पक्राउ गरेकाे हाे ।
 
अलौंमा साेमबार विहान  खटिएको सशस्त्र प्रहरीको टोलीले आफन्त नेपाल संस्थाको समन्वयमा भारततर्फ जान लागेका १ जना महिला तथा १ जना पुरुषलाई शंका लागी नियन्त्रणमा लिएकाे थियाे ।
 
सशस्त्र प्रहरीले निजहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएपछि सोधपुछ गर्दा जिल्ला नुवाकोट घर भएकी २३ वर्षीया निज महिलालाई मुन्ना आलमले फेसबुकमार्फत चिनजान गरी आफू पहिल्यै विवाहित भएको तथ्य लुकाई झुट्ठा प्रेम सम्बन्ध राखी विवाह गर्ने बहानामा नारायणगढ, चितवन बोलाएका थिए ।
 
उनले प्रहरीलाई झुक्याउने उद्देश्यले बुर्का लगाइदिई वीरगञ्जसम्म ल्याई ईनर्वा नाका भनी सिर्सिया नाकातर्फबाट सीमापार गराई भारत लगी बेचबिखन गर्ने उद्देश्य रहेको प्रारम्भिकरूपमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
 
सोही बमोजिमको पीडितबाट जाहेरी दरखास्त  प्राप्त गरी ति महिलालाई झुक्याई बेचबिखन गर्ने उद्देश्यले लैजाने कार्यमा संलग्न मुन्ना आलमलाई पर्सा जिल्ला अदालतबाट सोही मितिमा दिन १० दिनकाे म्याद थप गरी मानव बेचबिखन कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।