वीरगञ्जबाट लागुऔषधसहित २ जना पक्राउ

वीरगञ्जबाट लागुऔषधसहित २ जना पक्राउ

वीरगञ्ज, ८ कार्तिक ।  जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।

सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा प्रहरी चौकी गणेशटोलबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकमा चेकजाँचको क्रममा लागुऔषध बरामद गरेको हो ।

बा.४ च १०२१ नम्बरको कारबाट १ सय मिलिलिटरको विनसिरेक्स २ सय ३७ बोत्तल र नाइट्राभेट ट्याब्लेट ६ सय पिस बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीका अनुसार लागुऔषधसहित पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ का २६ वर्षीय सुमन न्यौपाने र सोही ठाउँका २८ वर्षीय रोशन लामा रहेका छन् । दुवैजनाविरुद्ध लागु औषध सम्बन्धि कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता कार्कीले बताए ।