एमालेको स्थायी कमिटी बैठक आज, यी हुन् एजेण्डा

एमालेको स्थायी कमिटी बैठक आज, यी हुन् एजेण्डा

काठमाडौं - नेकपा एमालेले स्थायी कमिटी बैठक आह्वान गरेको छ । बैठक आज अपराह्न ४ बजेका लागि च्यासलस्थित तुल्सीलाल स्मृति प्रस्तिष्ठानमा बस्न लागेको हो । 

बैठकका लागि दुईवटा एजेण्डा तय भएको छ । बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ र समीक्षा हुने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

एमालेको ६ हजारभन्दा वडा र ६ सयभन्दा धेरै पालिकामा अधिवेशन गरिसकेको छ । अधिकांश स्थानमा अधिवेशन सर्वसम्मत भएको छ । बाँकी रहेका वडा र पालिकाको अधिवेशन कार्तिकभित्र सक्ने नेताहरुले बताएका छन् ।

बैठकमा राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिकाको विषयमा पनि छलफल हुने सचिव तामाङले जानकारी दिए । दशौं राष्ट्रिय महाधिवेशन मंसिर १०–१२ गतेसम्म चितवनमा हुनेछ । उक्त महाधिवेशनका लागि प्रतिनधिका विषयमा एमालेले छलफल गर्न लागेको  हो । 

सोही मापदण्ड निर्धारण गर्न यसअघि बसेको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटी बैठक आह्वान गरिसकेको छ ।