मदिरा पिएर सर्वसाधारणलाई बन्दुक ताक्ने मेजर

प्रहरीले सेनालाई मेजर शाही र बडुवाल हत्याकाण्डबीच कुनै कनेक्सन नभएको बयान

मदिरा पिएर सर्वसाधारणलाई बन्दुक ताक्ने मेजर

नेपाली सेनाले सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेका सेनानी (मेजर) अशोक शाहीलाई सेवाबाट बर्खास्तसहित एक महिना कैदको सजाय सुनाएको छ । 

२५ बाहिनीका बाहिनीपति सहायक रथी कृष्णबहादुर जिसीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले ३ पुसमा मेजर शाहीलाई सैनिक अनुशासन विपरीत कार्य गरेको ठहर गर्दै  सेवाबाट बर्खास्त र एक महिना कैदको फैसला गरेको हो । सैनिक स्रोतका अनुसार मेजर शाही कैद भुक्तान गरेर रिहा भइसकेका छन् । 

सेनाले २२ कात्तिकमा भएको यस घटनाको अनुसन्धानका लागि २५ बाहिनीकै महासेनानीको कमाण्डमा तत्काल कोर्ट अफ इन्क्वाइरी गठन गरेको थियो । कोर्ट अफ इन्क्वाइरी टिमले स्थानिय, सेनाकै अधिकारी र इलाका प्रहरी कार्यालयका अधिकारीसँग लिएको बयान, उपलब्ध सबुतप्रमाण र मेजर शाहीको बयानपछि आफ्नो प्रतिवेदन बुझाएको थियो । 

सैनिक उच्च स्रोतका अनुसार घटनाका दिन मेजर शाही नजिकको चिसापानी बजारमा आफ्नो वा ०१–००२६च ३४६१ नम्बरको गाडी चलाएर पुगेका थिए । उनले त्यहाँ पुग्नुअघि ब्यारेकमै अत्याधिक मदिरा सेवन गरेका थिए । उनी चिसापानीस्थित लुक होटलका जानुपर्नेमा हर्कबहादुर रावलले संचालन गरेको संगम होटल पुगेका थिए । 

मेजर शाहीको संगम होटलका संचालक तथा त्यहाँ रहेका ग्राहकसँग भनाभन भएपछि उनी इलाका प्रहरी कार्यालय चिसापानीमा पुगेका थिए । सैनिक प्रतिवेदन अनुसार इप्रकाका प्रहरी निरीक्षकलाई तत्काल होटल संचालकलाई कारबाही गर्न टोली खटाउन निर्देशन दिएपछि उनको अवस्था हेरेर हाल शिक्षालयमै फर्कन आग्रह गरिएको उल्लेख छ । 

घटनास्थलको बयान जाहेरीमा नेपाल प्रहरीका निरीक्षकले हजुर अहिले त्यहाँ जाने अवस्था छैन्, समाजमा गलत असर पर्छ, भोली के गर्ने हो त्यही गरौला भन्ने आग्रहलाई बेवास्तागर्दै मेजर शाही त्यहाँबाट बाहिरीएका थिए । 

इप्रकाबाट बाहिरीएका मेजर शाहीले त्यसपछि शिक्षालय फर्किएर डिउटीमा रहेका एकजनालाई हतियार सहित लिएर चिसापानी पुगेका थिए । कोर्ट अफ इन्क्वाइरीले प्रहरीसँग लिएको बयानमा उसले मेजर शाहीको गाडी कार्यालयको पर्खालमा ठोक्किएको, सुरुमा कार्यालय आएको, अत्याधिक मदिरा सेवन गरेको बताएको छ । 

प्रहरी र स्थानियले कोर्ट अफ इन्क्वाइरीमा मेजर शाहीले घटनाका दिन राती सर्वसाधारणमाथि हतियार तेर्साएपछि उनीमाथि कुटपिट भएको बताएका छन् । प्रहरीले उनलाई जोगाएर कार्यालयमा लैजानुका साथै सेनाको जिम्मा लगाएको थियो । 

तर, अर्को तर्फ गाडी तोडफोड र मेजर शाही घाइते भएको तथा उनीमाथि नियोजित आक्रमण भएको दाबी उनको पक्षले गरेको छ । मेजर शाहीको भनाई अनुसार उनी होटल लुकमा जानुपर्नेमा होटल संगम पुगेका थिए । उनले साहुजीका बिषयमा सोध्दा आक्रमण भएको दाबी गरिएको छ । तर सैनिक प्रतिवेदनमा उनी मदिराले मात्तिएकाले होटल समेतको पहिचान गर्नसक्ने अवस्थामा थिएनन् । 

यही घटनाको सेरोफेरोमा सोही संगम होटलका संचालक मेजर शाहीमाथि आक्रमणमा संलग्न रहेको दाबी गरिएको समूहले त्यसको दुईदिनपछि स्थानिय युवा भूपेन्द्र बडुवालको हत्या गरेको थियो  । 

टीकापुरमा भएको दुई समूहबीचको झडपमा बडुवालको मृत्यु भएको थियो ।  बडुवालको चक्कु प्रहार गरेर हत्या गरिएको थियो । पक्राउ पर्नेमा चिसापानीस्थित संगम होटलका सञ्चालक हर्कबहादुर रावलका छोरा महेशलगायत छन् । 

प्रहरीले सेनालाई मेजर शाही र बडुवाल हत्याकाण्डबीच कुनै कनेक्सन नभएको बयान दिएको छ ।