सरावगीले एमालेको लागि मात्र भोट माग्दै, उपमेयर उम्मेदवार झा "घरको न घाट को"

सरावगीले एमालेको लागि मात्र भोट माग्दै, उपमेयर उम्मेदवार झा "घरको न घा...

वीरगञ्ज २२ वैशाख । नेकपा एमालेबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका प्रत्यासी विजयकुमार सरावगीले आफ्नो पार्टीको लाग मात्र भोट मागिरहेको पाइएको छ ।

वीरगञ्ज महानगरमा एमाले र लोसपाले गठबन्धन गरेर निर्वाचन लड्ने सम्झौता गरेपनि मेयरका उम्मेदवार सरावगीले आफ्नो पार्टीको लागि मात्र भोट मागिरहेको पाइएको हो ।

सम्झौता अनुसार वीरगञ्ज महानगरको मेयरमा एमालेबाट विजयकुमार सरावगी र उपमेयरमा लोसपाबाट पुरुषोत्तम लाल झाले लडिरहेका छन् । तर, एमालेका मेयर उम्मेदवार सरावगीले सूर्य छापका लागि मात्र भोट मागिरहेका छन् । उनले लोसपाबाट उपमेयर उम्मेदवार झाको साइकल चिन्हको प्रचार पनि गरिरहेका छैनन् ।

सरावगीले निर्वाचन लक्षित कार्यक्रमहरुमा समेत झालाई वेवास्ता गर्ने गरेका छन् ।

सरावगीले बिहिबार सामाजिक सञ्जालमा एउटा पोस्ट सेयर गरेर लहरै एमालेको लागि भोट मागेका छन् । उनले राखेको तस्विरमा "सातै सूर्य, सातै छाप" लेखिएको छ । अर्थात सात वटै मत सूर्यमा मात्र गरौँ भन्ने उनको अनुरोध छ ।

यसरी गठबन्धन गरेर पनि लोसपाका लागि भोट नमाग्दा त्यस पार्टीबाट उमपेयरका उम्मेदवार पुरुषोत्तम झा न घरको न घाटको भएका छन् ।

गठबन्धन गरेर आफूले धेरै ठूलो गल्ती गरेको झाले विभिन्न ठाउँमा भन्ने गरेको स्रोतको दावी छ ।